काठमाडौं- ललितपुर मेयर्स कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले ललितपुर मेयर्स एघार टिमलाई १५ रनले हराएको छ। प्रदेश १ ले दिएको १२९ रनको लक्ष्य पछ्याएको ललितपुरले पूरा ओभर खेलेर ११३ रन मात्र बनाउन सकेको हो।
ललितपुरका लागि अनुराधा चौधरीले ३२ बलमा २८ रन, कन्चन श्रेष्ठले ८ बलमा ४ रन, अस्मिना कर्माचार्यले २२ बलमा १२ रन, सुमन खतिवडाले २६ बलमा २७ रन, सरस्वती कुमारीले २० बलमा १७ रन र शोभा आलेले ४ बलमा ५ रन बनाए।
प्रदेश नम्बर १ का लागि रुबिना क्षेत्रीले तीन साथै सबनम राई र ज्योती दनवारले एक–एक विकेट लिए। त्रिवि मैदानमा भएको खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर १ ले पूरा ओभर खेलेर २ विकेट जाँदा १२८ रन बनाएको थियो।
जसमा काजल श्रेष्ठले ११ बलमा ८ रन, रुबिना क्षेत्रीले २४ बलमा २१ रन, रोमा थापाले ५७ बलमा ६६ रन साथै अप्सरी बेगमले २९ बलमा २६ रन बनाएका थिए। अन्तिम खेलको जितसँगै प्रदेश नम्बर १ को ४ खेलमा ४ अंक भयो। ललितपुरको ४ खेलमा २ अंक भयो।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपिएफ फाइनलमा पुगिसकेका छन्। फाइनल खेल शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।