याङ्गुन- म्यानमारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १२० जनाभन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ। यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ।
ती कलाकारहरुमध्येका प्रमुख हुन् यहाँका एक जना गायक र मोडेल पाइङ ताखोन। उनी म्यानमार र थाइल्याण्डमा समेत चर्चित गायक, मोडेल र कलाकार हुन्। उनले पछिल्लो समयमा म्यानमारको सैनिकले विद्रोह गरेर सत्ता हत्याएको विरोधमा कार्यक्रम गर्दै आएका थिए। अहिले म्यानमारमा विरोध प्रदर्शन जारी छ र यसमा कलाकारहरुले विभिन्न कला पनि प्रस्तुत गर्ने गरेका छन्।
उनीसहित उनका अरु सहयोगी तथा कलाकारहरुलाई पनि म्यानमारको सेनाले पक्राउ गरेर थुनामा राखेको बताइएको छ। यहाँ गत फेब्रुअरी १ मा सरकारलाई अपदस्थ गरी सेनाले सत्ता लिएको छ।
त्यसका विरुद्धमा म्यानमारमा सुरुदेखि नै विरोध भइरहेको छ। सैनिक सरकारका विरुद्धमा यहाँका लेखक, पत्रकार, कलाकार तथा समाजका विभिन्न क्षेत्र र वर्गका नागरिकहरुले सडक संघर्षलाई जारी राखेका छन्।
उनी म्यानमारको याङ्गुनबाट दक्षिणी सहरमा बस्दै आएका थिए। आमाको घरमा बसिरहेका उनलाई पक्राउ गर्नका लागि आठ वटा सैनिकका ट्रकमा करिब ५० जना सेना आएका थिए। ती कलाकारकी बहिनी थिथि लिविनले सो समाचार फेसबुकमा पोस्ट गरेकी बताइएको छ।
उनलाई बिहीबार विहानै निवासमै आएर सेनाले पक्राउ गरी लगेको थियो। ती कलाकार बिरामी नै रहेका बेलामा सेनाले पक्राउ गरेको र उनलाई कहाँ लगेर राखेको छ भन्ने बारेमा केही थाहा पनि नभएको पनि उनकी बहिनीले बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।