काठमाडौं- सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई अदालतको अवहेलना मुद्दामा उपस्थित हुन आदेश गरेको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासले बिहीबार प्रधानमन्त्री ओलीको नाममा लिखित जवाफसहित सात दिनभित्र आफैं उपस्थित हुन आदेश जारी गरेको हो।
वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको निवेदनमा सुनुवाइ गर्दै अदालतको यस्तो आदेश आएको हो।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दामा पटक-पटक अभिव्यक्ति दिएको तथा कानून व्यवसायीहरूलाई होच्चाएको र इजलासमा भइरहेको बहसलाई तमासा भनि टिप्पणी गरेको भन्दै अवहेलना निवेदन दायर भएको थियो।
ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएको टिप्पणी गरेका थिए। ९४ वर्षिय वरिष्ठ अधिवक्तालाई लक्षित गर्दै गरेको टिप्पणीले समग्र न्यायपालिकामाथि अवहेलना गरेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने रिट निवेदन दर्ता गराएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।