काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पनि नागरिक समाज बन्ने टिप्पणी गरेका छन्। बिहीबार नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले गत सोमबार आयोजित 'बालुवाटार मार्च'मा सहभागी भएका नेकपा नेता रघुजी पन्तको प्रसंग ल्याउँदै बाँकी नेताहरू पनि सोही बाटो जाने बताएका हुन्।
‘एकजना साथी त अस्ति नागरिक समाजको अगुवा भएर जानुभएछ। मैले यसो हेरें, चित्रमा नियालेर, अरु छन् कि छैनन् भनेर। अरु अझै गएका रहेनछन्। प्रचण्ड-माधवहरूको पनि बाटो त्यही हो। उनीहरू पनि नागरिक अगुवा भएर त्यहीँ पुग्छन्। पार्टी-सार्टी सिद्धिन्छ’, उनले भने, ‘तीन महिना लाग्छ, तीन महिना। तीन महिनामा नागरिक समाज यिनीहरु पनि हुन्छन्।’
उनले वैशाखसम्म आफूहरू अत्यन्त सजग र गतिशील हुनुपर्ने बताए। ‘यी तीन महिना हाम्रो जीवन-मरणका संघर्ष हुन्’, ओलीले भने। आफ्नो सम्बोधनमा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको आलोचना गरे। उनीहरूलाई पिलो निचोरिएको संज्ञा दिँदै पार्टी महान् शुद्धीकरणमा प्रवेश गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।