काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भाषणको क्रममा गर्ने मजाकको स्पष्टीकरण दिएका छन्। उनले शनिबार राजधानीमा आइजित एक कार्यक्रममा बोल्दै आफ्नो मजाकको आफैंले स्पष्टीकरण दिएका हुन्।
आफूले हसाएर नेपाली जनता हाँसेकोमा अरुलाई पीर परेको उनको भनाइ छ। नेकपाकै अर्को समूहका नेता दाहाल–नेपाललाई इंगित गर्दै ओलीले उनीहरुलाई 'रुवाउने'को संज्ञा दिए। उक्त समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल र दाहालकै नेतृत्वमा सञ्चालित दश वर्षे सशस्त्र द्वन्द्वको प्रसंग अघि सारेर ओलीले त्यसबाट जनता रुवाइएको टिप्पणी गरेका हुन्।
'दुनियाँ रुवाएर आएकाहरुलाई हँसाएकोमा पीर पर्या छ। जोक्करै रहेछ भन्याछ। कसैको घोडा खोसेर रुवाएको छ। कसैको गाडी खोसेर रुवाएको छ। कसैको घर र पैसा खोस्याछ। रुवाएको छ। रुवाउने अनेकथरि काइदा छन्। मारेर, कुटेर, लुटेर रुवाएको छ,' उनले नेपाली जनता खुशी भएर हाँसेको दावी गर्दै थपे, 'रुवाउन सकेनौं। सक्तैनौ। दिइने छैन।'
उनले आफूले हँसाएकोमा पीर परेको भन्दै बर्बाद गर्नबाट रोकेको दाबी गरे। उनले भने, 'नेपाली जनता हासेकोमा किन पीर पर्यो? त्यसो भए के म मान्छे मार्दै टुहुरा बनाउँदै हिँडु। विधवा बनाउँदै हिँडु?'
ओलीले आफू देशको अनुहारमा मुस्कान ल्याउन खोजिरहेको दाबी पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।